मिति -२०७५-१०-१४ सोमबार

लेक्चरर्स क्वार्टर, पृथ्वीनारायण क्याम्पस पोखरा

प्यारी छोरी जिया

मैले लेख्न लागेको कुरा आजको मितिमा पनि लेखिरहन पर्नु विडम्बना हो । किनकि विश्वका धेरै देशमात्र होइन हाम्रै देशका पनि केही जाति-समुदायका मान्छेले तिमी र म जन्मेहुर्केको र बाँचिरहेको जाति-समुदायमा यो सबै कुरा साँच्चिकै हुन्छ , भइरहन्छ भन्ने सुन्दा-पढ्दा अचम्म मान्छन् । तर यही विडम्बना नै तिमी र म जन्मेहुर्केको र बाँचिरहेको जाति समुदाय र समयको सत्यता हो । हामीकहाँ यस्ता घटना, दृश्य र कुराकानी अझै कति वर्ष वा पुस्तासम्म अस्तित्वमा रहिरहने हुन् भन्ने कुराको कुनै पत्तो छैन । हामीले यो चलनमाथि गर्नसक्ने सानो परिवर्तनलाइ पनि  'क्रान्ति' ठान्नुपर्ने , आफ्ना घरका पाका स्वास्नीमान्छे र लोग्नेमान्छेहरुले हाम्रो त्यो कथित क्रान्तिलाई स्वीकारिदिए बापत अनुगृहित हुनुपर्ने बाध्यता अझै छ । कसैलाई यो कुरा एकदमै सामान्य लाग्ला , तर तिमी र मसंग जोडिएको यो हाम्रो नीजि अनुभव हाम्रो आफ्नो लागि मूल्यवान छ । व्यक्तिगत रुपमा महत्वपूर्ण छ । त्यसैले म लेख्दैछु । 'पर्सनल इज पोलिटिकल' भनेको के हो , त्यो  तिमीले अलि ठूली भएपछि बुझौली ।
२०७५ साल माघ ९ गतेको दिन थियो त्यो । आज ठ्याक्क ६ दिन भयो । तिमी सधैं झै स्कुलबाट आफ्नो दाइसँग घर आयौ र मलाइ हिन्दीमा भन्यौ "आमा 'मिन्स' (महिनावारी) हुआ ।"  "हो ? कुनबेला ? अनि प्याड कसले दियो ?" मेरा सहज प्रश्नहरुमा तिमीले सहज उत्तर दियौ "सिक्स्थ पिरियड (छैठौं घन्टी) मा भएँ , साथीसंग मागेर लगाएँ , लक्ष्मीले घर गएर प्याड ल्याइदिई ।" एसओएसमा पढ्ने भएकोले एसओएस भिलेजमा बस्ने साथी लक्ष्मीले तिमीलाई उतिबेलै आफ्नो घर गएर प्याड ल्याइदिइछन् , प्याड खोज्न खासै गाह्रो भएनछ । हाम्रा प्रश्नोत्तर यसकारण पनि एकदमै सहज थिए किनकि दुइ वर्ष अघिदेखि नै मैले तिमीलाइ भन्दै आएको थिएँ "स्कुलमा 'मिन्स' भयो भने मलाइ फोन गरेर बोलाउनु पर्दैन है , यो एकदमै सामान्य कुरा हो , टिचरहरुसँग   प्याड माग्ने , लगाउने , र चारबजे स्कुल छुट्टी भएपछि अरु दिनजस्तै सामान्य तरीकाले घर आउने , 'म्याडम' हरुसँग त पक्कै हुन्छ ।" तिमीले ठ्याक्कै त्यस्तै गर्‍यौ र बेलुकी दाइसँग चल्दैचल्दै घर आयौ । "अब यो 'खुशखबरी' बाबालाई सुनाउनु छ ।"  घर आएको एकछिनमा तिमीले यसो भन्यौ । बाबा आएपछि तिमी बाबाको काखमा बस्यौ र सुनायौ "बाबा म मिन्स भएँ ।" तिम्रो बाबाले "के भो त ? 'नर्मल' कुरा हो" भन्नुभो ।

तिम्रा साथीहरुले तिमीलाई ”अब तिमीले भान्सा बार्नुपर्छ किनकि त्यहाँ श्राद्धमा प्रयोग हुने भाँडाकुँडा हुन्छन् , पूजाकोठा बार्नुपर्छ" भने र तिमीले "उनीहरुलाई हाम्रो घर (पोखरा, जहाँ तिमी , तिम्रो दाइ , बाबा र म बस्छौं ) मा त्यस्तो गर्नुपर्दैन , सबैजना नास्तिक छन् , यहाँ श्राद्ध पनि हुँदैन भन्दै आएँ" भनेर मलाइ सुनायौ । चुलो छोएर तिमीले साथीहरुसंगको झोंक पोख्यौ । मैले तिमीलाइ यदि तिमीले यसरी चुलो छुने हो भने त बार्ने चलन हुन्छ र तिमीले त्यो चलन नमानेको मात्रै हो भन्ने अर्थ लाग्छ , महिनावारी सामान्य कुरा हो भनेर सोच्ने हो भने यसमा बार्ने-नबार्ने कुराको छलफल नै हुँदैन , त्यसको प्रसंग नै उठ्दैन भनेर  सम्झाएँ । तिमीलाइ हामीले घरिघरि त जिस्कायौं पनि , भोलिपल्ट बिहान तिमीलाई "अब घाम नहेर" भन्यौं । तिमीले "बाबा, म भरे हजुरसंगै स्कुलबाट घर आउने हो" भन्दा बाबाले "कहाँ आउने, मसंग छोइन हुँदैन" भनेर जिस्काउनुभो र भरे आफुसंगै मोटरसाइकलमा घर ल्याउनुभो । तिमीले मेरो गुन्यूचोली गर्दिनुस अब म 'मिन्स' भएँ भन्यौ र मैले भनें "त्यसोभए त बार्नुपर्छ , किनकि गुन्यूचोली भनेको पनि परम्परागत कुरालाइ स्वीकार गरेको हो , केटीमान्छे गुन्यूचोली लगाउने 'जात' हो भनेको हो । "
मैले तिमीसँग महिनावारी बारे उहिल्यैदेखि संवाद गर्न थाल्नुको पनि कारण छ । तिमी आफ्नो उमेरका बच्चाबच्चीभन्दा ठूली छौ , यतिखेर एघार वर्ष र ६ महिनाको हुदा नै तिम्रो उचाइ पाँच फिट चार इन्च र  वजन ६६ किलो छ । मान्छेहरुले पोहोर परारैदेखि भन्ने गर्थे , "कस्तो हुर्केकी यो , अब 'पन्छिन्छे' ।" "कहाँ लान्छौ लुकाउन ?  यहीं घरमै छुट्टै कोठामा दुइ दिन दाजु र बाबालाइ नदेखाइकन राख्दिए हुन्छ ।"  म यस्ता 'उदारवादी सुझाव' पनि सुन्थें र भित्रभित्र मुस्कुराउँथें । तिम्रो शारिरीक वृद्धिको हिसाबले तिमी दस वर्षमै महिनावारी हुन्छ्यौ होला जस्तो त मलाइ पनि लाग्थ्यो । त्यसैले पनि म तिमीलाइ मानसिक रुपमा तयार गर्नका लागि यस्तो संवाद गर्थें । अर्को ,  म नभएको बेलामा महिनावारी भएमा के गर्ने भन्ने बारेमा पनि तिमी र म प्रशस्त संवाद गर्थ्यौं । विशेषगरी दसैं र तिहारको लामो छुट्टी जुनबेला तिमी मामाघर र बाबाको घर गरेर पालोपालो बस्न रुचाउँछ्यौ , त्यतिबेला पहिलोपटक महिनावारी भए कसरी प्याड लगाउने भनेर मैले सम्झाउँदा तिमीले मसँग 'डेमो' मागेकी थियौ , टेबलमा अण्डरवेयर र स्यानिटरी प्याड राख्न लगाएर ।  तिम्रो महिनावारीको समय आइपुगुन्जेल सम्ममा त तिमी आफैंले पनि इन्टरनेटमा महिनावारी भएको बेला के  प्रयोग गर्ने , मिन्स्ट्रुअल कप कि टेम्पन , कि प्याड नै सजिलो , आदिबारे प्रशस्तै अनुसन्धान गरिकन आफ्नो लागि प्याड रोजेकी थियौ । मसँग बेलाबेला भनिरहन्थ्यौ , "अरु कुराको डर छैन , हजुरलाइ जस्तो 'हेबी ब्लिडिङ' हुन्छ कि भन्ने मात्रै डर छ ।" हामीले कहिल्यै आमासँग आफूलाई कति मात्रामा रक्तश्राव हुन्छ भनेर भन्न सकेनौं , महिनावारी बारे छलफल नै नगरी दकस मात्रै मानेर हुर्कियौं । तर तिमी त मेरो आमासंग "मलाइ मिन्स भएको बेलामा भान्सामै , डाइनिङ टेबलमै बसेर खान दिनुहुन्छ कि दिनुहुन्न ? दिनुहुन्न भने त म मामाघर कहिल्यै  आउँदिन" भनेर झगडा गर्दा जम्मा आठ वर्षकी मात्रै थियौ ।
तिम्रो पहिलो महिनावारीमा तिमीले हामीलाई खूब थकायौ पनि । त्यसैपनि घरमा सबैभन्दा सानी भएर पुल्पुलिएको कारण आफ्नो दाइ , बाबा र मबाट आफ्नो प्रशस्तै सेवा गराउने तिमीले हामीबाट यो पटक दोब्बर सेवा लियौ । यो पटक त खाटको पल्लो छेउमा भएको आफ्नो स्कुल ब्याग वल्लो छेउमा सारिदिन पनि दाइलाइ भन्यौ ।  तिमीलाइ चारदिन भएको दिन बिहानै  तिम्रो दाइ ठट्यौली पारामा सोध्दै थियो "अब भोलिबाट मैले छुट्टी पाउँछु ?" मैले उसलाई भनें  "होइन भोलि बल्ल पाँच दिन हुन्छ , पर्सीसम्म पाउँदैनौ ।"  तिमीले  थप्यौ, "कसैकसैलाइ त ६-७ दिनसम्म पनि रगत बग्छ नि" । तिम्रो दाइले फेरि ठट्टा गर्‍यो , "आमा 'मिन्स' भएको कहिल्यै थाहै पाइन , यसले त मलाइ मिन्स भएको नाममा कति सेवा गराइसकी" । ती दिनहरुमा 'क्रेभिङ' भएको भन्दै तिमीले मलाई केही खानेकुरा , चकलेट आदि किन्न र केही घरमै बनाउन लगायौ । थोरै रक्तश्राव हुँदा पनि दिगमिग मानेर तिमीले घन्टाघन्टामा बाथरुममा प्याडहरुको थुप्रो लगायौ , जुन मैले हरेकपटक व्यवस्थापन गरें । कैयौंपटक "प्याड पास गर्नुस न" भनेर हामीलाइ भन्यौ । तिमी तीन कक्षामा पढ्दा मामाघरमा मैले "मलाइ अन्डरवेयरसमेत धुवाउँछे" भनेर मेरा आमाबुवालाइ तिम्रो 'कुरा लगाएको' थिएँ । तिमीले त्यतिबेला भनेकी थियौ "म मिन्स हुन्जेल धोइदिनुस न, त्यसपछि धुवाउँदिन" । तर यो पटक ६ कक्षामा पुगेकी तिमीले त्यो कुरा बिर्स्यौ र मैले तिमीलाइ त्यो कुरा याद दिलाइन पनि ।


तिम्रो पहिलो महिनावारी , शारिरिक परिवर्तनको एउटा कोशेढुंगा, तिम्रो मन पनि कोमल भएको हुनसक्छ यो एडजस्टमेन्ट गर्न खोज्दा भन्ने सोचेर म यतिखेर अतिरिक्त सचेत भएँ आफैंलाइ अचम्म लाग्नेगरी । यो एकदमै सामान्य कुरा हो , यो पाप पनि होइन र 'गुराँसको लाली' जस्तो उपमा दिइरहनु पर्ने कुनै अभूतपूर्व चीज पनि होइन भनिरहने मान्छे म । तरपनि तिमी महिनावारी भएको बेला मलाई लागिरह्यो , तिमी असाध्यै नरम भएकी छौ , तिमीलाई अफ्ठ्यारो भइरहेको छ जस्तो । तिमी एकदमै सामान्य तरीकाले प्याड फेर्थ्यौ तर मलाइ तिमीले यति सानो उमेरमा कति दुख पाएको जस्तो लाग्थ्यो । बेलाबेला तिमी सामान्य तरीकाले नै "प्याडले कोतरेर डाबर उठेको छ" भन्थ्यौ । मलाई त्यो 'अफ्ठ्यारो' सुन्न गाह्रो हुन्थ्यो । तिमी सामान्य तरीकाले हाम्रो अगाडि नै आफ्ना ट्राउजर फेर्थ्यौ , म तिम्रो अन्डरवेयर भित्र देखिएको प्याड देखेर सिरिंग मान्थें "उफ ! मेरी सानी छोरीको रगत बगेको छ , प्याड हाल्नु परेको छ" भनेर । "स्कुलमा थकाइ लाग्यो ?" भनेर मैले सोध्दा  तिमीले "अँ  , कक्षामै निदाउँजस्तो भएको थियो" भन्दापनि म हुरुक्कै हुन्थें ।
म सोच्थें , म पहिलोपटक महिनावारी हुँदा नौ कक्षामा थिएँ , स्कुलमा भोग्ने असुविधा दुइ वर्ष मात्र भोगें , छोरी त बल्ल ६ कक्षामा छे चार-पाँच वर्ष भोग्नै छ । तिम्रो शरीरको यो सामान्य प्रक्रियामा म भने असामान्य रुपले सचेत र चिन्तित थिएँ  । मलाइ यो समयभरि लागिरह्यो तिमी कुनै असाध्यै कोमल चीज हौ , असाध्यै जतनले व्यवहार गर्नुपर्छ , जबकि तिमी त पहिलो दिनदेखि नै सामान्य थियौ , चहलपहल गरिरहेकी थियौ । आफ्नो लागि चिया , र खाजापनि (नियमित बाहेक अतिरिक्त खान मन लागेको बेला) पनि बनाइरहेकी थियौ । जेहोस तिमीले आफ्नो पहिलो महिनावारीलाइ सहज रुपमा लियौ , खुलेर गफ गर्‍यौ , र सहज  तरीकाले व्यवस्थापन पनि गर्‍यौ  । चार दिनसम्म मसंग तिमीले महिनावारी बारेमा निकै धेरै प्रश्न र संवाद गर्‍यौ जसलाइ मैले कुनैकुनै बेला झर्केर "उफ! यो केटीले चारदिनमा चालीस हजार पटक यही बारेमा गफ गरी" भनेर पनि भनें ।

तिमीलाइ तीन दिन भएको राति पोखरामा चट्याङसहित ठूलो पानी परेको थियो र तिमी डर लाग्छ भनेर आफ्नो बाबाको काखमा सुतेकी थियौ ।  त्यो बेला  र अरु धेरै बेला मैले आफ्नो समय खुब सम्झिएँ । मेरो आफ्नो पहिलो महिनावारीको बेलामा मलाई के कुरामा डर लाग्यो वा के के महसुस गरें भनेर मैले चार शब्द पनि कसैसंग व्यक्त गरेको याद छैन । दोस्रो पालोमा हो शायद , विमलाको घरको पिंढीमा उभिइरहेको बेला विमलाको बुवाले "सावित्रीलाइ बस्ने कुरा दे , यस्तो बेलामा धेरै उभिनु हुँदैन" भन्नुभएको थियो । आयुर्वेद पढ्नुभएको हो क्यारे , उहाँ डाक्टर भनेर चिनिनु हुन्थ्यो , त्यसैले हुनसक्छ , उहाँले "यस्तो बेला धेरैबेर उभिन हुँदैन" भनेर खुलस्त भन्न सक्नुभएको । त्यो सुनेरै पनि मैले कति धेरै दकस मानेको थिएँ , विमलाको बुवालाई पनि थाहा भयो भनेजस्तो लागेर । तिमीले 'क्रेभिङ' भन्दै गर्दा मलाइ याद आयो आफ्नो पालोमा दालभात वा नियमित खाजा नै अरुले पकाएर पस्केर नदिए खान नपाइने समयको । शुरुआती 'लुक्ने' दिन सकिएपछि हामीलाई घरबाट खाना ओसारिनु पर्दैनथ्यो ,  घरमै आउने , अलग्गै बसेर खाने र सुत्न चाहिं लुक्न बसेकै घरमा जाने चलन थियो । मेरो तेस्रो पालोमा एक रात आमा-बुवा ग्रहण नुहाउन नारायणी नदी जानुभएको थियो । रातिको बाह्र नबजी ग्रहणले नछोड्ने । म आमा बुवालाइ कुर्दै बरण्डामा बसिरहेँ । विमला रातिको खाना खाएर मलाई बोलाउन आइन् ,  मसँगै एघार बजेसम्म कुरिन् , बारम्बार सुत्न जाउँ भनिन  । सबैभन्दा ठूली छोरीको रुपमा घर कुरिरहेको 'ड्युटी' त छँदै थियो , त्योभन्दा बढी मलाइ भोकले पेट बटारेको थियो , जान्न भनें । घरमा औषधि पसल भएकी उनले "म तिमीलाई च्यवनप्राश खुवाउँला, जाउँ न सुतौं " समेत भनिन् । दालभातको भोक च्यवनप्राशले के मेटोस ? म मानिन , हार खाएर विमला एक्लै आफ्नो घर गइन ।  बुवाआमा फर्किएर खाना पाक्दा रातिको दुइ बज्नै लागिसकेको थियो । मैले खाना खाएँ र त्यो दिन लुक्न बसेको विमलाको घरमा सुत्न गइन । शुरुआती 'बार्ने' दिनहरु सकिइसकेको कारण पनि राति दुइबजे उनको घरको ढोका हान्न जानु परेन र घरकै बिस्तरामा सुतें ।  



तिमीले "कुन दिनमा कति रगत बग्छ?" भनेर सोध्दै गर्दा मैले सम्झिएँ आफूले त्यो कुरा थाहै नपाएको र एकपटक स्कुलको स्कर्टमा रगत लतपत भएपछि स्कुलका साथीहरुले 'फुच्ची' नामले क्लासमा बोलाइने मलाइ स्कर्टमाथि स्वेटर बाँधेर हाफ छुट्टीमा घर पठाएको । "धन्न जाडोको बेला थियो" , म अझै त्यो कुरा सम्झेर तिमीलाई सुनाईराख्छु । यसरी स्कर्ट लतपत भएर हत्तपत्त घर जाने मभन्दा ठूलो उमेरका मेरा कैयौं साथीहरु पनि थिए । उनीहरुलाइ पनि शायद कसैले भन्दिंदैनथ्यो , यो दिनमा यति रगत बग्छ, यसरी व्यवस्थापन गर्नुपर्छ , यत्रो 'टालो' चाहिन्छ  भनेर ।  तिमीले प्याड किनेर ल्याइदिनुस भनेर बारम्बार मलाइ अह्राउँदा मैले आफ्नो पहिलोपटक महिनावारी भएको कुरा सम्झें ; बर्खे बिदा शुरु भएको पहिलो दिनमै महिनावारी भएको , बिहान झिसमिसेमै थाहा पाएको , बिदाको पहिलो दिनमै मामाघर तनहुँ जाने भनेको मान्छे म अध्यारोमै जे भेट्यो त्यही , साना भाइबहिनीका थाङ्ना थिए कि ? झ्यापझूप तानतुन गरेर लगाएर साथीको घर गएको , उसलाई ढोका हानेर बिउँझाएको , उज्यालो होला कतै र सुर्यको प्रकाश देखिएला भनेर हत्तपत्त उसको घरको खाली कोठा खोल्न लगाएको । सात दिनसम्म अँध्यारोमा बसेको , कोपरामा दिशापिशाब गरेर हरेक राति फाल्न बाहिर निस्केको । काठको झ्यालबाट पनि कतै प्रकाश छिर्ला भनेर डराएर ससाना प्वाल पनि कपडा र कागजका डल्ला बनाएर सात दिनसम्म टालेको । हाम्रो समयका अधिकांश केटी त आमालाई पनि भन्दैनथे , महिनावारी हुँदा 'यसोयसो' गर्नुपर्छ भनेर सुनेको भरमै वरिपरिका घरमा दौडन्थे वा दिदीलाई भन्थे र दिदीले दौडाउँथी । अचम्म ! महिनावारी भएकी कुनै घरकी छोरीलाई छरछिमेकीले पन्ध्र-बीस दिन निर्धक्क आफ्ना घरका एउटा कोठा उपलब्ध गराउँथें । आजकल त त्यो संभव पनि नहोला ।
पहिलो पालो सावित्रीको घरको तल्लो तलाको खाली कोठामा लुकें , दोस्रोपटकमा त्यो कोठामा कोही भाडामा बस्ने आइसकेका थिए र अरु दुइ पाला अर्की साथी विमलाको घरमा गएर लुकें । माघमा मात्र तेह्र पुगेर चौधमा हिंडिरहेकी , मध्य असारमा पहिलोपटक महिनावारी भएकी मलाई पनि तिमीलाइ जस्तो चट्याङसंग डर लाग्यो कि लागेन होला भनेर त आफैंलाई पनि याद छैन , कसैले सोध्नु त परको कुरा । पहिलो पालोमा लुकेको घर आफ्नो घर पछाडि नै भएकोले नजिक थियो । तेस्रो दिन बिहान चारैबजे आमाले मोटर लगाएर घरबाट पर , म बसेको घरनजिकै पाइप लानुभयो ,  पानी हालिदिनुभयो,  नुहाएँ । बिजोर-बिजोर दिनमा चारैबजे नुहाएँ , कोठाभित्रै बसिरहें र सातौं दिनमा नुहाएपछि मात्रै सुर्यको उज्यालो देखें । घरको आँगनमा आएँ , मुडामा बसें , मलाइ धेरै दिनमा देखेर उत्साही ,उत्सुक र थोरै दकस मानिरहेका मेरा धेरैजना भाइबहिनीलाई हेरेर मुस्काएँ । दिनभरि घरी लुकेको कोठामा र घरी घरमै गरेर बिताउने र राति लुक्ने कोठामै फर्किने गरें । पहिलो पालोमा २२ दिनमा र त्यसपछि दुइ पाला १५ दिनमा पानी छुवाउने चलन थियो । त्यतिबेला लुक्न गएको घरमा दिदीबहिनी वा साथी गएर सुत्नको लागि साथी दिन्थे । म लुकेको घरमा संयोगवश छोरीहरु थिए र मसँग उनीहरु नै सुते । मुख्य बार्ने  र लुक्ने दिन उम्केपछि भान्सा छुने दिन नआउन्जेल फुक्काफाल भएजस्तो पनि हुँदोरैछ । दोस्रो र तेस्रो पालोमा पानी नछोउन्जेल लुकेकै घरमा बसेको र अरु काम नभएकोले लुकेको घरकै साथी विमलाले खेत र घर गर्दा  म पनि खेत वरिपरि भएका अरुबेला जान नपाएका , त्यति सम्पर्कै नभएका साथीहरुका घरमा पनि पुगें । पिंढीमा बसेर उनीहरुका कुरा सुनें । बर्खाको बेला थियो , त्यतिखेर टन्न खेत र खाली जमीन भएको गैडाकोटमा हाम्रो घरको अलिकति माथि भएको विमलाको खेतसम्म त म उनको साथ लागेर खुब गएँ  । हामीसंग भिडियो गेम वा इन्टरनेट साइट वा इन्टरनेटका बिभिन्न गेमजस्ता मनोरन्जनका साधन थिएनन् । गैडाकोटमा त हाम्रो खेत पनि थिएन । त्यसैले मलाई त्यो खेत-घर गर्ने काम खुब रमाइलो लाग्यो ।


तिमीले प्रयोग गरेका प्याडहरु तह लगाउँदै गर्दा मैले कैयौंपटक सम्झिएँ , आफ्नो पालोमा थोत्रा तन्ना र फरियाका टाला धोएर सुकाउने गोप्य ठाउँ नभएको घरमा बस्ने कारण असाध्यै अफ्ठ्यारो लाग्ने भएकोले टालाहरु प्रयोग गर्दै खाटमुनि फाल्दै गरेका , जाँगर चले कुनै दिन झिसमिसेमा वा घरमा कोही नभएको बेला निकालेर धुने नत्र अर्को पालोमा नया टाला तानतुन गरेर लगाउने, फेरि तिनलाई पनि महिनौं छोड्दिने पनि गरेका दिन । आमाबुवाले केही चाहिएर हाम्रो कोठाको खाटमुनि हेर्नुहुन्छ कि भनेर सधैंभरि त्रसित हुने र कुनै दिन उहाँहरुले साँच्चिकै खाटमुनि हेरेको र गाली खाएका दिनहरु पनि । रेडिमेड स्यानिटरी प्याड के हो भन्ने त म त्यतिन्जेल टिभीमा हेर्दा पनि थाहा पाउँदिनथें । परम्परागत रुढीवादी तरीकाले महिनावारी बारेकै हो , तर गाइको दुधसमेत खान नदिने काम भने घरमा कसैले गरेन । मेरो शुरुवाती महिनावारीका वर्षहरुमा हाम्रो घरमा गाइमात्र पालेको थियो । एकपटक मेरो महिनावारीको बेला हजुरआमाले समेत 'बढ्ने केटाकेटीले दुध नखाए के खाएर बढ्छन्' भनेको याद छ ।
तिमी आफनो  दाइसंग निर्धक्क खेल्ने र लडिबुडी गर्ने गरेको देखेर मैले सम्झें गैंडाकोटमा बस्दाका दिन । गर्मीको बेला बिहान ६ बजे खुल्ने स्कुल पढेर ११ बजे आएपछि खाना खाएर तिम्रो मामासंग एउटै बिस्तरामा सुतेकी म निदाएकै बेला महिनावारी भएको , मैले लगाएको स्कर्टमा रगतको  दाग लागिसकेको , आमाले बिउँझाउँदै बुवाले सुन्ने गरी नै 'बेहोसी' भन्नुभएको , म नुहाउन बाथरुम तिर दौडेको (आमाले हामीलाई महिनावारी हुनेबित्तिकै नुहाउने नियम बनाइ दिनुभएको थियो) । मेरो त्यस्तो 'नचाहिने' हर्कत बुवाले समेत थाहा पाउनुभयो , महिनावारी भएको थाहै नपाइ भाइसँग सुतिरहें भनेर म ग्लानिले भुतुक्कै भएर बुवाको अगाडि कसरी मुख देखाउने भन्ने सोचमा पुगेको । तिमी चट्याङसंग डर लाग्छ भन्दै बाबाको काखमा सुतिरह्यौ र मलाई आफ्ना साथीहरुका आमा-बुवाले महिनावारी भएको बेला केकस्ता रुढीवादी काम गर्न लगाउँछन् भनेर सुनाइ पनि रह्यौ । मैले तिमीलाई भनें पनि "पोखराकै केयौं आमाहरु महिनावारी भएकी आफ्नी छोरी भुइँमा सुतेकी छ कि खाटमा भनेर राति छोरीहरुको ढोका हान्दै चेक गर्न आउँछन् रे । मध्य र सुदुरपश्चिमका गाउँहरुमा छाउगोठमा पठाइने तिम्रै उमेरका साथीहरु कति डराउँदा हुन्  सर्प , चट्याङ, बाघ-भालु र सम्भावित बलात्कारीहरुसंग ?" भनेर ।
आजसम्म आइपुग्दा महिनावारीसंग सम्बन्धित मेरा अनगिन्ती मन खिन्न पार्ने सम्झना छन् । जुन सम्झेर र सम्झाएर म आज आफ्नो र संभवत तिम्रोसमेत दिमाग खिन्न पार्न चाहन्न । शताव्दियौं पुरानो अन्धविश्वासबाट हामी सबै शाषित थियौं भन्ने लाग्छ । तर त्यस्ता खिन्न हुनुपर्ने क्षण तिमीले मेरो जीवनकालमा र मसँग रहुन्जेल कुनैपनि हालतमा व्यहोर्ने छैनौ भन्नेमा चाहिं म दृढनिश्चित छु । महिनावारीको नाममा भयावह  भन्न मिल्ने यातना नभोगेपनि छुवाछुत त मैले भोगेकै हुँ । छुवाछुत घृणित मात्र होइन दण्डनीय अपराध नै हो । म आफूले त छुवाछुतजस्तो असभ्य र दण्डनीय काम गर्ने संभावनै रहेन , मेरो आँखाअगाडि त्यो छुवाछुत तिमीमाथि पनि कुनै हालतमा हुन दिन्न भन्नेमा म दृढ छु । तिमीलाई मैले घरभित्र र महिनापिच्छे गरिने यस्तो खालको छुवाछुतको प्रतिकार आफैले गर्नसक्ने गरी हुर्काएको छु भन्नेमा पनि ढुक्क छु । 


मैले बारम्बार दोहोर्‍याइ राख्ने एउटा हरफ छ , "जसको राज्यमा गइन्छ , त्यही राज्यको नियम पालना गर्नुपर्छ । अर्काको राज्यमा छु , उनीहरुमाथि निर्भर छु भने मैले त्यतिबेला आफ्नो नियम पालन गर्न सक्दिन ।" जस्तो कि विभिन्न देशका आ-आफ्ना नियम हुन्छन् ; रेष्टुरेन्ट , होटेलका समेत थरीथरीका नियम हुन्छन् ।  क्याम्पसभित्रको यो सानो स्टाफ क्वार्टर तिम्रो र मेरो 'राज्य' हो , यहाँ तिम्रो र मेरो आफ्नो नियम छ । त्यो नियम भनेको हामीले आफ्नो महिनावारीमा पालना गर्ने एकमात्र नियम सरसफाइ र आवश्यक परेमा आराम गर्न पाउने सुविधाबाहेक अरु केही होइन । तिम्रो महिनावारीपछि हामीले सल्लाह गरेका छौं , संभव भएसम्म हामीमाथि नानाथरीका असहज र रुढीवादी नियम लादिने , हाम्रो नियम नचल्ने 'राज्य'हरुमा आफ्नो महिनावारीको समय पारेर जानेछैनौं । र हाम्रो 'राज्य' मा आउनेहरुले पनि हाम्रै नियम पालन गर्नेछन् । हामी उनीहरुको लागि आफ्नो राज्यको नियम बदल्ने छैनौं ।
----------------------------------------------------------------------------------------------------------------------------
हाम्रोजस्तो समाजमा छोरा हुर्काउँदा र छोरी हुर्काउँदाको अनुभव फरक हुँदोरहेछ । संरचनात्मक विभेद बाक्लोगरी उपस्थित समाज , जुन समाजमा महिलाको सामाजिक सुरक्षाको अवस्था र हामीले भोग्ने अनेकथरी विभेद म हुर्कँदाको भन्दा एकरत्ति पनि फरक भएको छैन , मा हुर्कँदै गरेकी मेरी छोरीले आफूले खाएका जस्ता 'गोता' खानु नपरोस भन्ने लाग्दोरहेछ । आफुले भोगेका जस्ता दुर्व्यवहार र यौनहिंसा उसले कुन दिनबाट भोग्न थाल्ने हो र मलाई आएर सुनाउने हो भनेर दिनदिनै त्रसित र तम्तयार भइँदोरहेछ । छोरालाई आठ वर्षको उमेरमै एउटा मोबाइल फोन दिएर , माइक्रोबसका ड्राइभर दाइलाई जिम्मा लगाइदिएर मामाघर नारायणगढ पठाएको अनुभव छ । छोरीलाई आजसम्म सकिएको छैन । अरु खतराबाट मुक्त नभएपनि छोरा कम्तीमा यौनहिंसाबाट त तुलनात्मक रुपमा निकै कम जोखिममा थियो भन्ने आज आएर महसुस भएको छ ।
गएको जेठका दुइ हप्ताका शुक्रबार छोरी स्कुलको अतिरिक्त नृत्य कक्षापछि मात्रै घर आइ । स्कुल बस गइसक्ने हुनाले आफ्ना साथीहरुसँग नगर बसमा आइ । मलाई लागिरह्यो ,अब हरेक हप्ता छोरी नगर बसमा आउने हो भने कुनै न कुनै दिन उसले बसमा वा बससम्म पुगुन्जेल बाटोमा भोगेको यौन दुर्व्यबहारबारे मलाई बताउनेछ । म सोचेरै दुर्बल हुन्थें , कि "बाह्र वर्षकी छोरीले मलाई यो सबै कुरा भनिसक्दा मैले के भनुँला ? मसँग तुरुन्तै गएर उसलाई र उसका साथीहरुलाई  दुर्व्यबहार गर्नेहरु पत्ता लगाउने , कारबाही गर्ने विकल्प त हुनेछैन ,उनीहरु त कताकता पुगिसक्ने छन् । म के भनुँला उसलाई ? कस्सेर एक झापड दिनु भनुँला ? झगडा गर्नु भनुँला ? भनेर के गर्ने ? उ  त बालिका हो बाह्र वर्ष मात्रैकी । उसले त्यो सबै कसरी गर्न सक्छे ?" के म उसलाई "हाम्रो समाज नै यस्तै हो छोरी , सके व्यक्तिगत जोखिम ब्यहोरेरै , कसैले सहयोग गर्ला भन्ने आस नगरेरै कुटिदिनु,  नसके हिंसा सहनु" भनुँला ? मेरो यो उथलपुथलको बीचमै छोरीले अतिरिक्त नृत्य कक्षा जान्न भनी (जसको छुट्टै कहानी छ) र हाललाई म यो चिन्ताबाट अस्थायी रुपमा मुक्त भएको भ्रममा छु ।

छोरी पहिलोपटक महिनावारी भएको बेलामा पनि पहिलो दिनदेखि नै मेरो मनमा एकथरी उथलपुथल थियो । मैले उसलाई महिनावारी एउटा प्रक्रियाबाहेक केही होइन भनेर हुर्काएको छु , के उसले आफ्नो जीवनकालमा जाने-बस्ने ठाउँ र संगत गर्ने मान्छे सबै मजस्तै होलान् ? महिनावारीलाई लिएर हुने छुवाछुतको विरोध गर्न , प्रतिकार गर्न उसले कतिसम्म आफ्नो उर्जा खर्च गर्नुपर्ला ? मैलेभन्दा धेरै कि कम गरेपनि पुग्ला ? कि उ पनि कैयौंपटक "भर्सेला परोस , बरु चुप लागुँ र कम्तीमा एकपटकको लागि उर्जा बचाऊँ" भन्ली ? कहिलेकाहीं मैले गर्नेजस्तै ? आफ्नो पहिलो महिनावारीका हरेक क्षण सामान्य र रमाइलो तरीकाले लिएकी , मजाले महिनावारी सम्बन्धी गफ गरिरहेकी उसलाई हेर्थें र म आफ्ना दिन याद गर्थें । शुरुकै दिनमा आफ्नो मनमा उठेको उथलपुथल लेख्छु भन्दाभन्दै पाँच दिन त उसकै रेखदेखमा बित्यो । छैठौं दिनमा लेखें । असार २९ गते उ बाह्र वर्ष पुरा हुन्छे र त्यही आसपासमा पोस्ट गरौंला भनेर चुपचाप बसें र त्यही गरें :)

Comments