मिति -२०७५-१०-१४ सोमबार
लेक्चरर्स क्वार्टर,
पृथ्वीनारायण क्याम्पस पोखरा
प्यारी छोरी जिया
मैले लेख्न लागेको कुरा
आजको मितिमा पनि लेखिरहन पर्नु विडम्बना हो । किनकि विश्वका धेरै देशमात्र होइन
हाम्रै देशका पनि केही जाति-समुदायका मान्छेले तिमी र म जन्मेहुर्केको र
बाँचिरहेको जाति-समुदायमा यो सबै कुरा साँच्चिकै हुन्छ , भइरहन्छ भन्ने सुन्दा-पढ्दा
अचम्म मान्छन् । तर यही विडम्बना नै तिमी र म जन्मेहुर्केको र बाँचिरहेको जाति
समुदाय र समयको सत्यता हो । हामीकहाँ यस्ता घटना, दृश्य र कुराकानी अझै कति वर्ष
वा पुस्तासम्म अस्तित्वमा रहिरहने हुन् भन्ने कुराको कुनै पत्तो छैन । हामीले यो
चलनमाथि गर्नसक्ने सानो परिवर्तनलाइ पनि 'क्रान्ति' ठान्नुपर्ने , आफ्ना घरका पाका स्वास्नीमान्छे
र लोग्नेमान्छेहरुले हाम्रो त्यो कथित क्रान्तिलाई स्वीकारिदिए बापत अनुगृहित
हुनुपर्ने बाध्यता अझै छ । कसैलाई यो कुरा एकदमै सामान्य लाग्ला , तर तिमी र मसंग जोडिएको यो हाम्रो नीजि अनुभव हाम्रो आफ्नो
लागि मूल्यवान छ । व्यक्तिगत रुपमा महत्वपूर्ण छ । त्यसैले म लेख्दैछु । 'पर्सनल
इज पोलिटिकल' भनेको के हो , त्यो तिमीले
अलि ठूली भएपछि बुझौली ।
२०७५ साल माघ ९ गतेको
दिन थियो त्यो । आज ठ्याक्क ६ दिन भयो । तिमी सधैं झै स्कुलबाट आफ्नो दाइसँग घर
आयौ र मलाइ हिन्दीमा भन्यौ "आमा 'मिन्स' (महिनावारी) हुआ ।" "हो ? कुनबेला ? अनि प्याड कसले दियो ?"
मेरा सहज प्रश्नहरुमा तिमीले सहज उत्तर दियौ "सिक्स्थ पिरियड (छैठौं घन्टी) मा
भएँ , साथीसंग मागेर लगाएँ , लक्ष्मीले घर गएर प्याड ल्याइदिई ।" एसओएसमा
पढ्ने भएकोले एसओएस भिलेजमा बस्ने साथी लक्ष्मीले तिमीलाई उतिबेलै आफ्नो घर गएर
प्याड ल्याइदिइछन् , प्याड खोज्न खासै गाह्रो भएनछ । हाम्रा प्रश्नोत्तर यसकारण
पनि एकदमै सहज थिए किनकि दुइ वर्ष अघिदेखि नै मैले तिमीलाइ भन्दै आएको थिएँ
"स्कुलमा 'मिन्स' भयो भने मलाइ फोन गरेर बोलाउनु पर्दैन है , यो एकदमै
सामान्य कुरा हो , टिचरहरुसँग प्याड माग्ने , लगाउने , र
चारबजे स्कुल छुट्टी भएपछि अरु दिनजस्तै सामान्य तरीकाले घर आउने , 'म्याडम' हरुसँग त पक्कै हुन्छ ।" तिमीले
ठ्याक्कै त्यस्तै गर्यौ र बेलुकी दाइसँग चल्दैचल्दै घर आयौ । "अब यो 'खुशखबरी'
बाबालाई सुनाउनु छ ।" घर आएको एकछिनमा तिमीले यसो भन्यौ । बाबा आएपछि
तिमी बाबाको काखमा बस्यौ र सुनायौ "बाबा म मिन्स भएँ ।" तिम्रो बाबाले "के
भो त ? 'नर्मल' कुरा हो" भन्नुभो । तिम्रा साथीहरुले तिमीलाई ”अब तिमीले भान्सा बार्नुपर्छ किनकि त्यहाँ श्राद्धमा प्रयोग हुने भाँडाकुँडा हुन्छन् , पूजाकोठा बार्नुपर्छ" भने र तिमीले "उनीहरुलाई हाम्रो घर (पोखरा, जहाँ तिमी , तिम्रो दाइ , बाबा र म बस्छौं ) मा त्यस्तो गर्नुपर्दैन , सबैजना नास्तिक छन् , यहाँ श्राद्ध पनि हुँदैन भन्दै आएँ" भनेर मलाइ सुनायौ । चुलो छोएर तिमीले साथीहरुसंगको झोंक पोख्यौ । मैले तिमीलाइ यदि तिमीले यसरी चुलो छुने हो भने त बार्ने चलन हुन्छ र तिमीले त्यो चलन नमानेको मात्रै हो भन्ने अर्थ लाग्छ , महिनावारी सामान्य कुरा हो भनेर सोच्ने हो भने यसमा बार्ने-नबार्ने कुराको छलफल नै हुँदैन , त्यसको प्रसंग नै उठ्दैन भनेर सम्झाएँ । तिमीलाइ हामीले घरिघरि त जिस्कायौं पनि , भोलिपल्ट बिहान तिमीलाई "अब घाम नहेर" भन्यौं । तिमीले "बाबा, म भरे हजुरसंगै स्कुलबाट घर आउने हो" भन्दा बाबाले "कहाँ आउने, मसंग छोइन हुँदैन" भनेर जिस्काउनुभो र भरे आफुसंगै मोटरसाइकलमा घर ल्याउनुभो । तिमीले मेरो गुन्यूचोली गर्दिनुस अब म 'मिन्स' भएँ भन्यौ र मैले भनें "त्यसोभए त बार्नुपर्छ , किनकि गुन्यूचोली भनेको पनि परम्परागत कुरालाइ स्वीकार गरेको हो , केटीमान्छे गुन्यूचोली लगाउने 'जात' हो भनेको हो । "
मैले तिमीसँग महिनावारी
बारे उहिल्यैदेखि संवाद गर्न थाल्नुको पनि कारण छ । तिमी आफ्नो उमेरका
बच्चाबच्चीभन्दा ठूली छौ , यतिखेर एघार वर्ष र ६ महिनाको हुदा नै तिम्रो उचाइ पाँच
फिट चार इन्च र वजन ६६ किलो छ । मान्छेहरुले
पोहोर परारैदेखि भन्ने गर्थे , "कस्तो हुर्केकी यो , अब 'पन्छिन्छे' ।" "कहाँ
लान्छौ लुकाउन ? यहीं घरमै छुट्टै कोठामा दुइ
दिन दाजु र बाबालाइ नदेखाइकन राख्दिए हुन्छ ।" म यस्ता 'उदारवादी सुझाव' पनि सुन्थें र
भित्रभित्र मुस्कुराउँथें । तिम्रो शारिरीक वृद्धिको हिसाबले तिमी दस वर्षमै
महिनावारी हुन्छ्यौ होला जस्तो त मलाइ पनि लाग्थ्यो । त्यसैले पनि म तिमीलाइ
मानसिक रुपमा तयार गर्नका लागि यस्तो संवाद गर्थें । अर्को , म नभएको बेलामा महिनावारी भएमा के गर्ने भन्ने बारेमा
पनि तिमी र म प्रशस्त संवाद गर्थ्यौं । विशेषगरी दसैं र तिहारको लामो छुट्टी
जुनबेला तिमी मामाघर र बाबाको घर गरेर पालोपालो बस्न रुचाउँछ्यौ , त्यतिबेला पहिलोपटक
महिनावारी भए कसरी प्याड लगाउने भनेर मैले सम्झाउँदा तिमीले मसँग 'डेमो' मागेकी
थियौ , टेबलमा अण्डरवेयर र स्यानिटरी प्याड राख्न लगाएर । तिम्रो महिनावारीको समय आइपुगुन्जेल सम्ममा त
तिमी आफैंले पनि इन्टरनेटमा महिनावारी भएको बेला के प्रयोग गर्ने , मिन्स्ट्रुअल कप कि टेम्पन , कि
प्याड नै सजिलो , आदिबारे प्रशस्तै अनुसन्धान गरिकन आफ्नो लागि प्याड रोजेकी थियौ
। मसँग बेलाबेला भनिरहन्थ्यौ , "अरु कुराको डर छैन , हजुरलाइ जस्तो 'हेबी ब्लिडिङ' हुन्छ कि भन्ने मात्रै डर छ ।" हामीले कहिल्यै आमासँग आफूलाई कति मात्रामा रक्तश्राव हुन्छ भनेर भन्न सकेनौं , महिनावारी बारे छलफल नै नगरी दकस मात्रै मानेर हुर्कियौं । तर तिमी त मेरो आमासंग "मलाइ मिन्स भएको बेलामा भान्सामै , डाइनिङ टेबलमै बसेर खान
दिनुहुन्छ कि दिनुहुन्न ? दिनुहुन्न भने त म मामाघर कहिल्यै आउँदिन" भनेर झगडा गर्दा जम्मा आठ वर्षकी
मात्रै थियौ ।
तिम्रो पहिलो
महिनावारीमा तिमीले हामीलाई खूब थकायौ पनि । त्यसैपनि घरमा सबैभन्दा सानी भएर
पुल्पुलिएको कारण आफ्नो दाइ , बाबा र मबाट आफ्नो प्रशस्तै सेवा गराउने तिमीले हामीबाट
यो पटक दोब्बर सेवा लियौ । यो पटक त खाटको पल्लो छेउमा भएको आफ्नो स्कुल ब्याग वल्लो
छेउमा सारिदिन पनि दाइलाइ भन्यौ । तिमीलाइ
चारदिन भएको दिन बिहानै तिम्रो दाइ ठट्यौली
पारामा सोध्दै थियो "अब भोलिबाट मैले छुट्टी पाउँछु ?" मैले उसलाई भनें "होइन भोलि बल्ल पाँच दिन हुन्छ , पर्सीसम्म
पाउँदैनौ ।" तिमीले थप्यौ, "कसैकसैलाइ त ६-७ दिनसम्म पनि रगत
बग्छ नि" । तिम्रो दाइले फेरि ठट्टा गर्यो , "आमा 'मिन्स' भएको कहिल्यै
थाहै पाइन , यसले त मलाइ मिन्स भएको नाममा कति सेवा गराइसकी" । ती दिनहरुमा 'क्रेभिङ'
भएको भन्दै तिमीले मलाई केही खानेकुरा , चकलेट आदि किन्न र केही घरमै बनाउन लगायौ
। थोरै रक्तश्राव हुँदा पनि दिगमिग मानेर तिमीले घन्टाघन्टामा बाथरुममा प्याडहरुको थुप्रो लगायौ , जुन
मैले हरेकपटक व्यवस्थापन गरें । कैयौंपटक "प्याड पास गर्नुस न" भनेर
हामीलाइ भन्यौ । तिमी तीन कक्षामा पढ्दा मामाघरमा मैले "मलाइ अन्डरवेयरसमेत
धुवाउँछे" भनेर मेरा आमाबुवालाइ तिम्रो 'कुरा लगाएको' थिएँ । तिमीले
त्यतिबेला भनेकी थियौ "म मिन्स हुन्जेल धोइदिनुस न, त्यसपछि धुवाउँदिन" ।
तर यो पटक ६ कक्षामा पुगेकी तिमीले त्यो कुरा बिर्स्यौ र मैले तिमीलाइ त्यो कुरा
याद दिलाइन पनि । तिमीले "कुन दिनमा कति रगत बग्छ?" भनेर सोध्दै गर्दा मैले सम्झिएँ आफूले त्यो कुरा थाहै नपाएको र एकपटक स्कुलको स्कर्टमा रगत लतपत भएपछि स्कुलका साथीहरुले 'फुच्ची' नामले क्लासमा बोलाइने मलाइ स्कर्टमाथि स्वेटर बाँधेर हाफ छुट्टीमा घर पठाएको । "धन्न जाडोको बेला थियो" , म अझै त्यो कुरा सम्झेर तिमीलाई सुनाईराख्छु । यसरी स्कर्ट लतपत भएर हत्तपत्त घर जाने मभन्दा ठूलो उमेरका मेरा कैयौं साथीहरु पनि थिए । उनीहरुलाइ पनि शायद कसैले भन्दिंदैनथ्यो , यो दिनमा यति रगत बग्छ, यसरी व्यवस्थापन गर्नुपर्छ , यत्रो 'टालो' चाहिन्छ भनेर । तिमीले प्याड किनेर ल्याइदिनुस भनेर बारम्बार मलाइ अह्राउँदा मैले आफ्नो पहिलोपटक महिनावारी भएको कुरा सम्झें ; बर्खे बिदा शुरु भएको पहिलो दिनमै महिनावारी भएको , बिहान झिसमिसेमै थाहा पाएको , बिदाको पहिलो दिनमै मामाघर तनहुँ जाने भनेको मान्छे म अध्यारोमै जे भेट्यो त्यही , साना भाइबहिनीका थाङ्ना थिए कि ? झ्यापझूप तानतुन गरेर लगाएर साथीको घर गएको , उसलाई ढोका हानेर बिउँझाएको , उज्यालो होला कतै र सुर्यको प्रकाश देखिएला भनेर हत्तपत्त उसको घरको खाली कोठा खोल्न लगाएको । सात दिनसम्म अँध्यारोमा बसेको , कोपरामा दिशापिशाब गरेर हरेक राति फाल्न बाहिर निस्केको । काठको झ्यालबाट पनि कतै प्रकाश छिर्ला भनेर डराएर ससाना प्वाल पनि कपडा र कागजका डल्ला बनाएर सात दिनसम्म टालेको । हाम्रो समयका अधिकांश केटी त आमालाई पनि भन्दैनथे , महिनावारी हुँदा 'यसोयसो' गर्नुपर्छ भनेर सुनेको भरमै वरिपरिका घरमा दौडन्थे वा दिदीलाई भन्थे र दिदीले दौडाउँथी । अचम्म ! महिनावारी भएकी कुनै घरकी छोरीलाई छरछिमेकीले पन्ध्र-बीस दिन निर्धक्क आफ्ना घरका एउटा कोठा उपलब्ध गराउँथें । आजकल त त्यो संभव पनि नहोला ।
आजसम्म आइपुग्दा महिनावारीसंग सम्बन्धित मेरा अनगिन्ती मन खिन्न पार्ने सम्झना छन् । जुन सम्झेर र सम्झाएर म आज आफ्नो र संभवत तिम्रोसमेत दिमाग खिन्न पार्न चाहन्न । शताव्दियौं पुरानो अन्धविश्वासबाट हामी सबै शाषित थियौं भन्ने लाग्छ । तर त्यस्ता खिन्न हुनुपर्ने क्षण तिमीले मेरो जीवनकालमा र मसँग रहुन्जेल कुनैपनि हालतमा व्यहोर्ने छैनौ भन्नेमा चाहिं म दृढनिश्चित छु । महिनावारीको नाममा भयावह भन्न मिल्ने यातना नभोगेपनि छुवाछुत त मैले भोगेकै हुँ । छुवाछुत घृणित मात्र होइन दण्डनीय अपराध नै हो । म आफूले त छुवाछुतजस्तो असभ्य र दण्डनीय काम गर्ने संभावनै रहेन , मेरो आँखाअगाडि त्यो छुवाछुत तिमीमाथि पनि कुनै हालतमा हुन दिन्न भन्नेमा म दृढ छु । तिमीलाई मैले घरभित्र र महिनापिच्छे गरिने यस्तो खालको छुवाछुतको प्रतिकार आफैले गर्नसक्ने गरी हुर्काएको छु भन्नेमा पनि ढुक्क छु ।
हाम्रोजस्तो समाजमा छोरा हुर्काउँदा र छोरी हुर्काउँदाको अनुभव फरक हुँदोरहेछ । संरचनात्मक विभेद बाक्लोगरी उपस्थित समाज , जुन समाजमा महिलाको सामाजिक सुरक्षाको अवस्था र हामीले भोग्ने अनेकथरी विभेद म हुर्कँदाको भन्दा एकरत्ति पनि फरक भएको छैन , मा हुर्कँदै गरेकी मेरी छोरीले आफूले खाएका जस्ता 'गोता' खानु नपरोस भन्ने लाग्दोरहेछ । आफुले भोगेका जस्ता दुर्व्यवहार र यौनहिंसा उसले कुन दिनबाट भोग्न थाल्ने हो र मलाई आएर सुनाउने हो भनेर दिनदिनै त्रसित र तम्तयार भइँदोरहेछ । छोरालाई आठ वर्षको उमेरमै एउटा मोबाइल फोन दिएर , माइक्रोबसका ड्राइभर दाइलाई जिम्मा लगाइदिएर मामाघर नारायणगढ पठाएको अनुभव छ । छोरीलाई आजसम्म सकिएको छैन । अरु खतराबाट मुक्त नभएपनि छोरा कम्तीमा यौनहिंसाबाट त तुलनात्मक रुपमा निकै कम जोखिममा थियो भन्ने आज आएर महसुस भएको छ ।
गएको जेठका दुइ हप्ताका शुक्रबार छोरी स्कुलको अतिरिक्त नृत्य कक्षापछि मात्रै घर आइ । स्कुल बस गइसक्ने हुनाले आफ्ना साथीहरुसँग नगर बसमा आइ । मलाई लागिरह्यो ,अब हरेक हप्ता छोरी नगर बसमा आउने हो भने कुनै न कुनै दिन उसले बसमा वा बससम्म पुगुन्जेल बाटोमा भोगेको यौन दुर्व्यबहारबारे मलाई बताउनेछ । म सोचेरै दुर्बल हुन्थें , कि "बाह्र वर्षकी छोरीले मलाई यो सबै कुरा भनिसक्दा मैले के भनुँला ? मसँग तुरुन्तै गएर उसलाई र उसका साथीहरुलाई दुर्व्यबहार गर्नेहरु पत्ता लगाउने , कारबाही गर्ने विकल्प त हुनेछैन ,उनीहरु त कताकता पुगिसक्ने छन् । म के भनुँला उसलाई ? कस्सेर एक झापड दिनु भनुँला ? झगडा गर्नु भनुँला ? भनेर के गर्ने ? उ त बालिका हो बाह्र वर्ष मात्रैकी । उसले त्यो सबै कसरी गर्न सक्छे ?" के म उसलाई "हाम्रो समाज नै यस्तै हो छोरी , सके व्यक्तिगत जोखिम ब्यहोरेरै , कसैले सहयोग गर्ला भन्ने आस नगरेरै कुटिदिनु, नसके हिंसा सहनु" भनुँला ? मेरो यो उथलपुथलको बीचमै छोरीले अतिरिक्त नृत्य कक्षा जान्न भनी (जसको छुट्टै कहानी छ) र हाललाई म यो चिन्ताबाट अस्थायी रुपमा मुक्त भएको भ्रममा छु ।
छोरी पहिलोपटक महिनावारी भएको बेलामा पनि पहिलो दिनदेखि नै मेरो मनमा एकथरी उथलपुथल थियो । मैले उसलाई महिनावारी एउटा प्रक्रियाबाहेक केही होइन भनेर हुर्काएको छु , के उसले आफ्नो जीवनकालमा जाने-बस्ने ठाउँ र संगत गर्ने मान्छे सबै मजस्तै होलान् ? महिनावारीलाई लिएर हुने छुवाछुतको विरोध गर्न , प्रतिकार गर्न उसले कतिसम्म आफ्नो उर्जा खर्च गर्नुपर्ला ? मैलेभन्दा धेरै कि कम गरेपनि पुग्ला ? कि उ पनि कैयौंपटक "भर्सेला परोस , बरु चुप लागुँ र कम्तीमा एकपटकको लागि उर्जा बचाऊँ" भन्ली ? कहिलेकाहीं मैले गर्नेजस्तै ? आफ्नो पहिलो महिनावारीका हरेक क्षण सामान्य र रमाइलो तरीकाले लिएकी , मजाले महिनावारी सम्बन्धी गफ गरिरहेकी उसलाई हेर्थें र म आफ्ना दिन याद गर्थें । शुरुकै दिनमा आफ्नो मनमा उठेको उथलपुथल लेख्छु भन्दाभन्दै पाँच दिन त उसकै रेखदेखमा बित्यो । छैठौं दिनमा लेखें । असार २९ गते उ बाह्र वर्ष पुरा हुन्छे र त्यही आसपासमा पोस्ट गरौंला भनेर चुपचाप बसें र त्यही गरें :)
गएको जेठका दुइ हप्ताका शुक्रबार छोरी स्कुलको अतिरिक्त नृत्य कक्षापछि मात्रै घर आइ । स्कुल बस गइसक्ने हुनाले आफ्ना साथीहरुसँग नगर बसमा आइ । मलाई लागिरह्यो ,अब हरेक हप्ता छोरी नगर बसमा आउने हो भने कुनै न कुनै दिन उसले बसमा वा बससम्म पुगुन्जेल बाटोमा भोगेको यौन दुर्व्यबहारबारे मलाई बताउनेछ । म सोचेरै दुर्बल हुन्थें , कि "बाह्र वर्षकी छोरीले मलाई यो सबै कुरा भनिसक्दा मैले के भनुँला ? मसँग तुरुन्तै गएर उसलाई र उसका साथीहरुलाई दुर्व्यबहार गर्नेहरु पत्ता लगाउने , कारबाही गर्ने विकल्प त हुनेछैन ,उनीहरु त कताकता पुगिसक्ने छन् । म के भनुँला उसलाई ? कस्सेर एक झापड दिनु भनुँला ? झगडा गर्नु भनुँला ? भनेर के गर्ने ? उ त बालिका हो बाह्र वर्ष मात्रैकी । उसले त्यो सबै कसरी गर्न सक्छे ?" के म उसलाई "हाम्रो समाज नै यस्तै हो छोरी , सके व्यक्तिगत जोखिम ब्यहोरेरै , कसैले सहयोग गर्ला भन्ने आस नगरेरै कुटिदिनु, नसके हिंसा सहनु" भनुँला ? मेरो यो उथलपुथलको बीचमै छोरीले अतिरिक्त नृत्य कक्षा जान्न भनी (जसको छुट्टै कहानी छ) र हाललाई म यो चिन्ताबाट अस्थायी रुपमा मुक्त भएको भ्रममा छु ।
छोरी पहिलोपटक महिनावारी भएको बेलामा पनि पहिलो दिनदेखि नै मेरो मनमा एकथरी उथलपुथल थियो । मैले उसलाई महिनावारी एउटा प्रक्रियाबाहेक केही होइन भनेर हुर्काएको छु , के उसले आफ्नो जीवनकालमा जाने-बस्ने ठाउँ र संगत गर्ने मान्छे सबै मजस्तै होलान् ? महिनावारीलाई लिएर हुने छुवाछुतको विरोध गर्न , प्रतिकार गर्न उसले कतिसम्म आफ्नो उर्जा खर्च गर्नुपर्ला ? मैलेभन्दा धेरै कि कम गरेपनि पुग्ला ? कि उ पनि कैयौंपटक "भर्सेला परोस , बरु चुप लागुँ र कम्तीमा एकपटकको लागि उर्जा बचाऊँ" भन्ली ? कहिलेकाहीं मैले गर्नेजस्तै ? आफ्नो पहिलो महिनावारीका हरेक क्षण सामान्य र रमाइलो तरीकाले लिएकी , मजाले महिनावारी सम्बन्धी गफ गरिरहेकी उसलाई हेर्थें र म आफ्ना दिन याद गर्थें । शुरुकै दिनमा आफ्नो मनमा उठेको उथलपुथल लेख्छु भन्दाभन्दै पाँच दिन त उसकै रेखदेखमा बित्यो । छैठौं दिनमा लेखें । असार २९ गते उ बाह्र वर्ष पुरा हुन्छे र त्यही आसपासमा पोस्ट गरौंला भनेर चुपचाप बसें र त्यही गरें :)





Comments
Post a Comment